पोखरा, २२ माघ । विश्व क्यान्सर दिवसको अवसर पारेर नेपाल सरकारले आजदेखि देशभर किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ दिन थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय केन्द्रित रूपमा सञ्चालन गर्ने यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। यसैको रोकथामका लागि सरकारद्वारा एचपीभी खोप कार्यक्रम सञ्चालन गरिएको हो। देशभरका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई लक्षित गरी खोप दिइँदैछ। मन्त्रालयका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रासँगै विद्यालय बाहिर रहेका किशोरीहरूलाई समेत खोपको पहुँचमा ल्याइनेछ।

खोप अभियानका लागि १८ हजार ९ सय विद्यालयका खोप केन्द्र, ८ हजार २ सय अन्य खोप केन्द्र, २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० स्वयंसेवक र १५ हजार ६ सय ७४ सुपरिवेक्षक परिचालित हुनेछन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एचपीभी खोपले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन अनुरोध गरे।

नेपालमा प्रत्येक दिन औसतमा चार जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार नेपालमा वार्षिक २ हजार १ सय ६९ महिलामा यस्तो क्यान्सर देखिन्छ भने १ हजार ३१३ जनाले ज्यान गुमाउने गरेका छन्।

चिकित्सकहरूका अनुसार प्रारम्भिक रूपमा निदान भई उपचार गर्न सकिए पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। स्त्री क्यान्सररोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिका अनुसार नेपालमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ भने विश्वमा चौथो स्थानमा पर्छ।

खोप लगाएपछि सामान्य रूपमा सुई लाएको ठाउँ दुख्ने, सुन्निने वा ज्वरो आउने हुन सक्ने भए पनि यी लक्षण केही दिनमै हराउने मन्त्रालयले जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0