पोखरा, २३ माघ । राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा जलवायु परिवर्तन, नेपाल–बेलायत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको थियो।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषय भएको उल्लेख गर्दै यसको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। नेपाल जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित मुलुक भएकाले अन्तर्राष्ट्रिय मञ्चमा हिमाल संरक्षणलाई प्राथमिकतासहित उठाइरहेको उनको भनाइ थियो। यसै सन्दर्भमा नेपालले आगामी १६ देखि १८ मेसम्म ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको जानकारी उनले दिए।
बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीयासहित मंगलबारै नेपाल आएका हुन्। शिष्टाचार भेटमा नेपालका लागि बेलायती राजदूतको पनि उपस्थिति रहेको थियो। भेटका क्रममा राष्ट्रपति पौडेलले बेलायती राजपरिवारका सदस्यहरूको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनेको स्मरण गर्दै सन् १९६० मा महारानी एलिजाबेथ द्वितीय र सन् १९८६ मा राजकुमार फिलिपले गरेको नेपाल भ्रमण उल्लेख गरे।
सो अवसरमा अधिराजकुमार एडवार्डले जलवायु परिवर्तनका प्रभावबारे नेपाल भ्रमणका क्रममा थप बुझ्ने र प्रकृति कत्तिको जोखिममा छ भन्ने विषयमा अवलोकन गर्ने बताए। साथै, नेपाल–बेलायत सम्बन्ध भविष्यमा अझ सुदृढ बनाउन युवा र महिला सशक्तीकरणका क्षेत्रमा सहयोग महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
शिष्टाचार भेटका क्रममा बेलायती सेनाको ‘गोर्खा–ब्रिगेड’ का प्रमुख मेजर जनरल जेराल्ड स्ट्रिकल्याण्डले राष्ट्रपति पौडेलसमक्ष सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे। सो अवसरमा राष्ट्रपति पौडेलले ब्रिटिस–गोर्खा नेपाल–बेलायत सम्बन्धको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै बेलायत सरकारप्रति आभार व्यक्त गरे।




























