पोखरा, १ फागुन । पेरिसमा सम्पन्न एआई एक्शन शिखर सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा मानव–केन्द्रित, अधिकार–आधारित र नैतिक दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। सम्मेलनले एआईको सुरक्षासँगै विकासशील देशहरूको क्षमता अभिवृद्धि गर्न तत्काल कदम चाल्नुपर्ने आह्वान गरेको छ।
भारत र फ्रान्सको सहअध्यक्षतामा सम्पन्न यस सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा युरोपियन युनियन र अफ्रिकी युनियनसहित ५८ देशले हस्ताक्षर गरेका छन्। तर, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले उक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरे।
शिखर सम्मेलनले एआई प्रविधिको विविधतालाई सुदृढ गर्ने आवश्यकता औंल्याउँदै यसलाई मानव अधिकारमा आधारित, नैतिक, सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा जोड दिएको छ। एआई प्रविधिको पहुँचलाई प्रवर्द्धन गर्दै नवप्रवर्तन र दिगो विकासलाई सुनिश्चित गर्नुपर्ने सन्देश सम्मेलनमार्फत दिइएको छ।
शिखर सम्मेलनले संयुक्त राष्ट्रसंघको ग्लोबल डिजिटल कम्प्याक्टलगायतका हालका अन्तर्राष्ट्रिय प्रयासहरूको महत्त्वलाई स्वीकार गर्दै, एआई क्षेत्रमा समावेशी नीति आवश्यक रहेको धारणा राखेको छ। साथै, एआईको असमान प्रभावलाई न्यून गर्दै विकासोन्मुख राष्ट्रहरूलाई प्रविधिको फाइदा दिलाउन ठोस रणनीति अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ।




























