पोखरा, ६ फागुन। पोखरा महानगरपालिका–६ मा सञ्चालन हुन लागेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ रोक्न खोज्ने प्रयासलाई उच्च अदालत पोखराले अस्वीकार गरेको छ। अदालतले महायज्ञ सञ्चालनमा कुनै अवरोध सिर्जना नगर्न महानगरपालिका र सम्बन्धित पक्षलाई आदेश दिएको छ।
ड्यामसाइड क्षेत्रमा आयोजना हुन लागेको कोटिहोमलाई धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। श्री मानव सेवा फाउन्डेसन नेपालले पोखरा महानगरपालिका–६ का लब्धप्रतिष्ठित व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी महायज्ञको आवश्यकताबारे छलफल गरेको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, धार्मिक संघसंस्था, टोल विकास समिति, महिला समूह र होटल व्यवसायीहरूले कोटिहोम कुनै हालतमा रोक्न नहुने एकमत व्यक्त गरे।
विश्व हिन्दु महासंघ पोखरा महानगरपालिका–६ का अध्यक्ष तुलसी दाहालले कोटिहोमविरुद्ध गरिएको प्रचार हिन्दु धर्ममाथिको प्रहार भएको बताए। उनले महायज्ञ आयोजनाले पोखरालाई विश्वभर चिनाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै पूर्ण समर्थन रहेको जनाए। लिलबारी टोल विकास समितिका अध्यक्ष टिकाराम परियालले धार्मिक आस्था र संस्कृतिको प्रवर्द्धन गर्न कोटिहोम आवश्यक रहेको बताए। उनले यसले पर्यटन व्यवसायलाई उकास्ने र स्थानीयलाई प्रत्यक्ष फाइदा पुर्याउने धारणा राखे।
महिला सञ्जालकी अध्यक्ष बबिता मल्लले सरसफाइलाई प्राथमिकतामा राखी महायज्ञ सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। उनले महिला समूहले कार्यक्रमलाई पूर्ण समर्थन गर्ने बताइन्। पोखरा युवा परिषद्का अध्यक्ष डिफान भुजेलले समाजमा बढ्दो विकृति र लागुऔषध दुव्र्यसनप्रति ध्यान नदिने तर धार्मिक कार्यमा अवरोध गर्न खोज्नु गलत भएको धारणा राखे। उनले पारदर्शिता कायम गर्दै कोटिहोम सम्पन्न गरिनुपर्ने बताए।
होटल संघ पोखराका सदस्य विवेक गौतमले ड्यामसाइड क्षेत्रमा महायज्ञ आयोजना हुँदा होटल व्यवसायीलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने बताए। उनले धार्मिक पर्यटन प्रवर्द्धन हुने र व्यवसायमा सकारात्मक प्रभाव पर्ने धारणा राखे। अन्य स्थानीयले पनि कोटिहोम रोक्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताए।
पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई क्याम्पिङ क्षेत्र र नेपाल ट्रस्ट मातहतको बाराहीघाट क्षेत्रमा महायज्ञ सञ्चालन गर्न पुस ६ गते अनुमति दिएको थियो। फाउन्डेसनले भाडास्वरूप ३३ हजार ८७६ रुपैयाँ बुझाएको थियो। प्रदेश सरकारको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले पुस २१ गते सहमति दिएको थियो।
महायज्ञको तयारीस्वरूप समिधा (दाउरा) संकलन गर्दा पोखराका केही स्थानमा रुख कटान भएको भन्दै विवाद उत्पन्न भयो। महानगरले सुरुमा स्वीकृति दिएको भए पनि पछि आफ्नो निर्णय फेर्दै अनुमति नदिएको बतायो। मानव सेवा फाउन्डेसनले महानगरको निर्णय गैरकानुनी भएको भन्दै उच्च अदालत पोखरामा उत्प्रेषण परमादेशका लागि निवेदन दियो।
उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले पोखराको वाराहीघाटस्थित ४८ रोपनी क्षेत्रमा महायज्ञ सञ्चालन गर्न कुनै अवरोध नगर्न आदेश जारी गर्यो। अदालतले कानुनी रूपमा बाधा नपर्ने कुनै कारणबाहेक अन्य अवरोध सिर्जना नगर्न महानगर र सम्बन्धित पक्षलाई निर्देशन दियो।
अदालतको आदेशपछि कोटिहोम आयोजना गर्न कानुनी अवरोध हटेको फाउन्डेसनले जनाएको छ। महायज्ञ आयोजनाका लागि पूर्वनिर्धारित कार्यक्रमअनुसार काम अघि बढाइने तथा सहभागीहरूको सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गरिने जनाइएको छ।































