पोखरा, ६ फागुन। भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालय, भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ। विश्वविद्यालयकै होस्टेलमा उनको शव शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले २१ वर्षीय भारतीय युवक अद्विक श्रीवास्तवलाई पक्राउ गरी फौजदारी मुद्दा दर्ता गरेको छ।
प्रकृतिका दाजु सिद्धान्त सिग्देलले बहिनीको मृत्युबारे इन्फोसिटी प्रहरी थानामा खबर गरेका थिए। बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत सिद्धान्तले बहिनी कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत रहेको र अद्विक श्रीवास्तवको दुर्व्यवहारकै कारण उनले आत्महत्या गर्नुपरेको भन्दै उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले श्रीवास्तवलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन गरेको आरोपमा मुद्दा दर्ता गरेको हो।
भुवनेश्वर प्रहरीले सोमबार श्रीवास्तवलाई नियन्त्रणमा लिई सोही दिन न्यायिक हिरासतमा पठाइसकेको जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले मृतक प्रकृतिले प्रयोग गर्ने विभिन्न इलेक्ट्रोनिक ग्याजेटहरू र अन्य प्रमाणहरू संकलन गरी अनुसन्धान अघि बढाएको छ। मंगलबार जारी विज्ञप्तिमा प्रहरीले निष्पक्ष र न्यायपूर्ण छानबिन हुने प्रतिबद्धता व्यक्त गरेको छ।
यस घटनापछि विश्वविद्यालय प्रशासनले सोमबार बिहान नेपाली विद्यार्थीहरूलाई आन्दोलन गरेको आरोप लगाउँदै छात्रावास खाली गर्न निर्देशन दिएको थियो। तर, विद्यार्थीहरूले विरोध जनाएपछि उक्त निर्णय एक दिनमै फिर्ता लिइएको थियो। विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई पुनः होस्टेल फर्कन आग्रह गरिसकेको छ।
यसैबीच, प्रहरीका अनुसार विश्वविद्यालयका सुरक्षाकर्मीहरूले पनि विद्यार्थीहरूप्रति दुर्व्यवहार गरेको उजुरी परेपछि उनीहरूविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका सुरक्षाकर्मीहरूमा रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहेरा र बेगु बहेरा रहेका छन्। उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
भुवनेश्वर प्रहरीले हाल सबै संलग्नलाई कानुनी प्रक्रियामा ल्याइने जनाएको छ। नेपाली विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरी प्रशासनले उनीहरूलाई कुनै जोखिम नहोस् भन्ने प्रतिबद्धता व्यक्त गरेको छ।




























