पोखरा, ६ फागुन। पोखराको लेकसाइडमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारीमा महत्वपूर्ण प्रगति भएको छ। महायज्ञका संकल्पकर्ता यज्ञ शिरोमणी राष्ट गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिनु भएको छ कि तयारी कार्य करिब ७५ प्रतिशत पूरा भएको छ।

यस महायज्ञको आयोजनाका लागि आवश्यक जग्गा भाडामा लिने, सामग्रीको व्यवस्थापन गर्ने र स्वयमसेवक छनोट गर्ने कार्य पुरा भएको छ। महायज्ञका लागि आवस्यक सबै तयारीहरू तीव्र गतिमा अघि बढिरहेका छन्। महायज्ञको प्रमुख आकर्षणमा संगीतपूर्ण श्रीमद्भागवत कथा, श्रीराम कथा, शिव महापुराण कथा, श्री हनुमत कथा र श्री देवी भागवत कथा लगायतका धार्मिक कृतिहरू हुनेछन्। यस महायज्ञको क्रममा लाखौं भक्तजनहरूको ब्रतवन्ध, विवाह, चौरासी पूजा, तलादान जस्ता महत्वपूर्ण धार्मिक कर्म गरिनेछन्।

साथै, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्ज्वलन, ३०० भन्दा बढी ब्राह्मणहरू द्वारा नियमित हवन, लाखौं रामनाम पुस्तिका वितरण र अरबौं रामनाम लेख्ने कार्य पनि हुनेछ। विशेष रूपमा, १ करोड पार्थिव शिव लिङ्ग निर्माण गरी १ करोड बेल पत्रबाट पूजा अर्चना गरिने छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूको आगमनको साथ साथै रामलीला र कृष्णलीला प्रस्तुति पनि हुनेछ।

महायज्ञका आयोजकहरूले गण्डकी प्रदेशका धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिहरूलाई प्रवर्द्धन गर्नका लागि विभिन्न प्रतियोगिता र कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएका छन्। गण्डकी प्रदेशका तीर्थ स्थलहरूको फोटो प्रदर्शनी, भजन, ज्ञान मंच र विचार मंचजस्ता विभिन्न गतिविधिहरूको आयोजनासमेत महायज्ञका प्रमुख आकर्षणहरू हुनेछन्। यसैगरी, गण्डकी प्रदेशका धार्मिक संघ/संस्थाहरू, मठ मन्दिर, आमा समूह र अन्य सामाजिक कार्यकर्ताहरूलाई सम्मान र पुरस्कार दिने व्यवस्था गरिएको छ।

महायज्ञको तयारीका सम्बन्धमा यज्ञ शिरोमणी वालयोगेश्वर महाराजले भने, “हामीले प्रत्येक गतिविधिलाई समयमै सम्पन्न गर्नको लागि सम्पूर्ण तयारी पूरा गरेका छौँ र अब महायज्ञको लागि हामी उत्साहित छौँ।” आगामी महिनामा आयोजनाको सम्पूर्ण प्रक्रिया पूरा हुनेछ र भक्तजनहरूको लागि एक ऐतिहासिक धार्मिक अवसरको रूपमा महायज्ञ सम्पन्न हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0