पोखरा, ७ फागुन। नेपाल सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निर्णय गरेको छ। बुटवलकी प्रकृति लम्सालको ओडिसामा मृत्यु भएपछि सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै मंगलबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकमा यो निर्णय भएको हो।
मन्त्रिपरिषदको बैठकमा ओडिसा घटनाबारे गहन छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका अधिकारीहरुले आपसी समन्वयमा समस्या समाधानका लागि प्रयास गरिरहेको जानकारी गराएका थिए। यद्यपि, बैठकमा ठोस निर्णय नभए पनि नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने निष्कर्ष निकालिएको थियो।
प्रकृति लम्साल ओडिसाको भुवनेश्वरस्थित कलेजमा अध्ययनरत थिइन् र आइतबार होस्टेलको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। सो घटनापछि विद्यार्थीहरुमाथि कलेज प्रशासनले कुटपिट गरेको भन्दै स्थिति तनावपूर्ण भएको थियो। नेपाल सरकारको पहलपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई कलेज फर्किन आह्वान गरेको छ।
ओडिसा सरकारले घटनाबारे छानबिन समिति गठन गरेको र दिल्लीस्थित दूतावासबाट टोली घटनाबारे जानकारी लिन पठाइएको पनि बताइएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले प्रभावित विद्यार्थी र अभिभावकलाई सहयोग गर्न सहायता कक्ष बनाइएको जानकारी दिइन्।
विद्यार्थीहरूले गम्भीर छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए भने कलेजका सुरक्षागार्ड र कर्मचारीले कुटपिटमा संलग्न हुँदा प्रहरीले केहीलाई पक्राउ गरिसकेको छ।




























