पोखरा, ७ फागुन। भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट जबरजस्ती निकालिएका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। सोमबार राति भुवनेश्वरबाट हिँडेका करिब ३ सयभन्दा बढी विद्यार्थीमध्ये पहिलो समूह बुधबार बिहान वीरगञ्ज आइपुगेको छ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार अहिलेसम्म ७६ छात्र र १९ छात्रा वीरगञ्जको शङ्कराचार्य गेट हुँदै नेपाल भित्रिएका छन्। तीमध्ये अधिकांश पर्सा, बारा, रौतहट तथा मकवानपुरका हुन्। वीरगञ्ज आइपुगेका विद्यार्थीलाई स्थानीय साउथ जोन स्कुलका दुईवटा बसमार्फत सिमरा पुर्‍याइएको छ। अन्य विद्यार्थीलाई लिन थप बस पठाइने स्कुल प्रशासनले जनाएको छ।

विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले उनीहरूलाई अपमानजनक व्यवहार गर्दै कुटपिट गरेर होस्टेलबाट निकालेको बताएका छन्। रुपन्देहीकी प्रकृति लम्साल होस्टेलमै शंकास्पद अवस्थामा मृत फेला परेपछि विरोध गरिरहेका नेपाली विद्यार्थीमाथि गुन्डा परिचालन गरी कुटपिट गरिएको उनीहरूले बताए।

भुवनेश्वरका विभिन्न रेल स्टेशनमा जबरजस्ती छाडिएका विद्यार्थीमध्ये करिब ३ सय जना कोलकाता पुगेका थिए। त्यहाँबाट उनीहरू फरक फरक मार्ग हुँदै स्वदेश फर्किरहेका छन्।

प्रकृति लम्साल मृत्यु प्रकरणपछि उत्पन्न तनावका कारण विश्वविद्यालयका महानिर्देशकसहित छ जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0