पोखरा, ७ फागुन। पूर्व सूचना तथा सञ्चारमन्त्री एवं नेकपा एमालेका नेता पार्वत गुरुङले परम्परागत शिक्षण सिकाइलाई परिवर्तन गरी प्रविधियुक्त र रोजगारमुखी बनाउनुपर्ने बताएका छन्। उनका अनुसार शिक्षा प्रणालीलाई वर्तमान युगको आवश्यकताअनुसार रूपान्तरण नगरेसम्म मुलुकको आर्थिक तथा सामाजिक विकास सम्भव छैन।
दोलखाको वैतेश्वर गाउँपालिका–४, मैनापोखरीस्थित हनुमन्तेश्वर माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सव तथा २९औँ अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नेता गुरुङले सामुदायिक विद्यालयहरूले परम्परागत शिक्षण पद्धतिलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले रोजगार सिर्जना गर्न नसक्ने शिक्षण प्रणालीका कारण नेपाली विद्यार्थी विदेशिन बाध्य भएको उल्लेख गर्दै स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षामा जोड दिनुपर्ने बताए।
उनका अनुसार कुनै पनि राष्ट्रको सन्तुलित विकासका लागि शिक्षा प्रणालीले राष्ट्रिय आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्नुपर्छ। तर, नेपालमा शिक्षाको स्पष्ट रणनीति निर्माण गर्न नसकिएको र दक्ष जनशक्ति आवश्यक क्षेत्रमा परिचालन गर्ने योजनाको अभाव रहेको उनको भनाइ छ।
कार्यक्रममा नेकपा समाजवादीका बागमती प्रदेश अध्यक्ष भीम प्रसाद दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चौलागाईं, विद्यालयका प्रधानाध्यापक भरत केसी, मावि शिक्षक यज्ञराज खतिवडा, हनुमन्तेश्वर क्याम्पसकी सहायक प्रमुख ज्योति केसीलगायतले शिक्षा प्रणाली सुधारका विषयमा आफ्ना धारणा राखेका थिए।
विद्यालयको वार्षिकोत्सव अवसरमा एसईई, कक्षा १२ तथा क्याम्पस तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट शिक्षक र अभिभावकलाई नगदसहित सम्मान गरिएको थियो।
हाल हनुमन्तेश्वर माध्यमिक विद्यालयमा प्रावि, निमावि, मावि तथा क्याम्पस तहमा गरी ९०९ विद्यार्थी अध्ययनरत छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत केसीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।































