पोखरा, ७ फागुन। हिसान गण्डकी प्रदेशस्तरीय फुटसल प्रतियोगितामा गुरुकुल विद्यासदन र इन्फोम्याटिक्स कलेजले उपाधि जितेका छन्। कक्षा १२ तहतर्फ गुरुकुल विद्यासदनले कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। विजेता टोलीका सुलभ थापा र सुमित मल्लले गोल गर्दा कास्की मोडनाइजका इसान्त पुनले सान्त्वना गोल फर्काए।
गुरुकुल विद्यासदनले उपाधिसँगै नगद १ लाख, मेडल र ट्रफि प्राप्त गर्यो भने उपविजेता कास्की मोडनाइज एकेडेमीले नगद ५० हजार, मेडल र ट्रफि जित्यो। प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि गुरुकुलका सुमित मल्लले हात पारे। त्यस्तै, हाइस्कोरर इसान्त पुन र उत्कृष्ट गोलरक्षक कुसल गिरी बने, दुवै कास्की मोडनाइजका खेलाडी हुन्।
कलेज तहतर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्यो। इन्फोम्याटिक्सका नारन पुनले ह्याट्रिक गर्दै तीन गोल गरे भने मन्दिप राजभण्डारी र निश्चिल घिमिरेले एक–एक गोल थपे। पोखरा कलेज अफ म्यानेजमेन्टका रमित गुरुङ र कुशल खड्काले एक–एक गोल गरे।
इन्फोम्याटिक्स कलेजले उपाधिसँगै नगद २० हजार, मेडल र ट्रफि जित्यो भने उपविजेता पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजार प्राप्त गर्यो। प्रतियोगिताको पहिलो पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो। प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरियल फुटबल क्लबले गरेको थियो।
विजेता तथा उपविजेता टोलीलाई हिसान गण्डकीका पदाधिकारी, गण्डकी प्रदेश खेलकुद समिति तथा आयोजक संस्थाका प्रतिनिधिहरूले मेडल, प्रमाणपत्र र ट्रफि वितरण गरेका थिए।






























