पोखरा, ८ फागुन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायु तथा न्यून चापीय प्रणालीको प्रभाव देखिएको जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशमा मौसम सफा रहेको छ। केही तराई भूभागमा हुस्सु लागेका कारण दृश्यता प्रभावित भएको छ।
आज दिउँसो देशका पश्चिमी भूभाग तथा अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम, कर्णाली तथा अन्य पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
रातिको समयमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम खुल्ने सम्भावना छ।
आगामी २४ घण्टामा पश्चिमी तथा मध्य पहाडी क्षेत्रमा मौसमको प्रभाव देखिने भएकाले सम्भावित वर्षा तथा हिमपातले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा असर पार्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।































