पोखरा, ८ फागुन। तनहुँमा अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मर्ने र बिरामी पर्ने क्रम बढ्दै गएको छ। सङ्क्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले बङ्गुर ओसारपसारमा प्रतिबन्ध लगाएको छ।
जिल्लाको भीमाद, शुक्लागण्डकी र व्यास नगरपालिकामा यो रोग देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार हालसम्म १८ बङ्गुर मरेका छन्। सबैभन्दा बढी सङ्क्रमण भीमाद नगरपालिकामा फैलिएको छ। पशु चिकित्सकहरूका अनुसार यो रोग किर्नाको टोकाइ, दूषित दानापानी तथा सङ्क्रमित सुईका कारण फैलिन्छ।
सङ्क्रमण नफैलियोस् भन्नका लागि पशु चिकित्सक र प्राविधिक टोली अनुसन्धानमा जुटेका छन्। अहिलेसम्म १२ वटा बङ्गुरको नमूना परीक्षणका लागि पोखरा पठाइएको छ। पशु चिकित्सकले किसानलाई फार्ममा बाह्य व्यक्तिको प्रवेश रोक्न, सफाइमा ध्यान दिन र जैविक सुरक्षा अपनाउन सुझाव दिएका छन्।
हालसम्म यो रोगविरुद्ध कुनै भ्याक्सिन बनेको छैन। अफ्रिकन स्वाइन फिभर लागेमा बङ्गुरमा उच्च ज्वरो आउने, खाना नखाने, झोक्राउने, कान र पेटमा रगतका धब्बा देखिने तथा एकैपटक धेरै बङ्गुर मर्ने लक्षण देखिन्छ।
































