पोखरा, ९ फागुन। आगामी वैशाखमा पोखराको लेकसाइडमा आयोजना हुने श्रीगण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को अवसरमा राष्ट्रिय भजन प्रतियोगिता आयोजना गरिने भएको छ। मानव सेवा फाउण्डेसन नेपालद्वारा आयोजित यस प्रतियोगिता गण्डकी प्रदेशकै अहिलेसम्मको सबैभन्दा ठूलो हुने आयोजकको दाबी छ।
महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजका अनुसार नेपालमै पहिलो पटक यति ठूलो राशीको भजन प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ। द्वितीय हुनेलाई २ लाख ५५ हजार ५५५, तृतीय हुनेलाई १ लाख ५५ हजार ५५५, र सान्त्वना स्थान हासिल गर्नेलाई १ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ।
यसैगरी, उत्कृष्ट १० विधामा छनोट भएका समूहहरूलाई २५ हजार ५५५ रुपैयाँ नगद, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ। पोखरा महानगरपालिकाका ३३ वडाबाट सहभागी हुने समूहलाई ५ हजार, गण्डकी प्रदेशका अन्य जिल्लाबाट सहभागी हुने समूहलाई ११ हजार, बाहिरी प्रदेशका समूहलाई १३ हजार, र विदेशबाट सहभागी हुने समूहलाई १५ हजार नगदसहित प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा कुनै पनि दर्ता शुल्क नलाग्ने फाउण्डेसनले स्पष्ट पारेको छ। भजन प्रतियोगिता २०८२ साल वैशाख १५ गतेदेखि जेठ २० गतेसम्म सञ्चालन हुनेछ भने समूह दर्ता २०८१ साल फागुन १५ गतेदेखि वैशाख १ गतेसम्म खुला रहनेछ। प्रतियोगिताको संयोजन वरिष्ठ लोकदोहोरी तथा भजन गायक प्रजापति पराजुलीले गर्नेछन्।
यसै अवसरमा महायज्ञमा अरबौं रामनाम लेख्ने अभियानसमेत सञ्चालन गरिने भएको छ। आयोजकले देशभरका भक्तजनलाई पुस्तिका वितरण गरी रामनाम लेख्न प्रेरित गर्नेछ। लेखिएका पुस्तिका सङ्कलन गरी ३०० भन्दा बढी ब्राह्मण गुरुहरूले संकल्प पूर्ति गरिने विशेष पूजा गर्नेछन्।

































