काठमाडौं, १२ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशलाई लिएर आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूबीच चर्काचर्की बहस भएको छ। राजतन्त्रको विरोधमा रहेका सांसदहरूले राजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव दिए भने राजतन्त्रको पक्षमा रहेकाहरूले राजतन्त्र आवश्यक रहेको जिकिर गरे।
नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रले आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताए। ‘दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको कि सरकार बदल्न खोजेको ?’ बास्कोटाले प्रश्न गरे। उनले गणतन्त्रको विरोध गर्ने काम संसद बैठक सुरु भएदेखि नै जारी रहेकोप्रति असन्तुष्टि जनाउँदै कांग्रेस र एमालेले गरेको कामलाई देख्न नसक्नेहरूले सरकारको विरोध गरेको टिप्पणी गरे।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आफूहरूले जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएको कुरा नबिर्सन चेतावनी दिए। उनले सत्ता पक्षले माओवादी केन्द्रसँग सल्लाह नगरी संविधान संशोधनका कुरा गरेको भन्दै माओवादीबिना संविधान संशोधन कुनै हालतमा नहुने चेतावनी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा पूर्वराजालाई स्पेस दिनुपर्ने बताए। ‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ लिङ्देनले भने। उनले गणतन्त्र लडेर ल्याएको भए पनि लुटतन्त्रमा परिणत भएकाले आफूहरूले निरन्तर रूपमा विरोध गरिरहने चेतावनीसमेत दिए।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा शाहलाई आउँदो २०८४ को निर्वाचनमा भाग लिन चुनौती दिइन्। उनले सत्तामा नै आउने चाहना भए कसैको कृपाले सत्तामा फर्किन नसोच्न आग्रह गरिन्।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र, लोकतन्त्र ल्याउन लडेका र जेलनेल भोगेकाहरूबाटै व्यवस्थामाथि खतरा रहेको टिप्पणी गरे। उनले लोकतन्त्र र गणतन्त्रका पक्षधरहरू सरकारमा पुगेसँगै बरु भ्रष्टाचार, राष्ट्रघात र लुटको शृंखला बढेको टिप्पणी गरे।
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेपालमा पुनः राजतन्त्र फर्कने सम्भावना नभएको जनाएका छन्। उनले राजतन्त्रलाई भूत–पिशाचको संज्ञा दिँदै अब कहिल्यै नफर्किने दाबी गरे।
राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा शाहलाई सुझाव दिएका छन्। उनले राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले आफूलाई राजा बनाऊ भन्नु उचित नहुने टिप्पणी गरे।


























