पोखरा, १२ फागुन। नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै युट्युबमा उच्च चर्चा कमाउन सफल भएको छ। २३ फागुनमा प्रदर्शन हुन गइरहेको यो चलचित्रको ट्रेलर विश्वका १३ देशमा ट्रेन्डिङमा रहन सफल भएको छ। शुक्रवार बेलुका काठमाडौंमा आयोजित एक विशेष समारोहमा ट्रेलर सार्वजनिक गरिएपछि छोटो समयमा नै यसले उल्लेखनीय दर्शक प्रतिक्रिया पाएको छ।

नेपाल र कुवेतमा पहिलो स्थान हासिल गरेको यो ट्रेलर कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो तथा युएई र रोमानियामा पाँचौँ स्थानमा ट्रेन्डिङमा परेको छ। जापान, अस्ट्रेलिया, र माल्टामा सातौँ स्थान हासिल गरेको ट्रेलर मलेसियामा एघारौँ, दक्षिण कोरियामा चौधौँ र बेलायतमा अट्ठाइसौँ स्थानमा पुगेको छ। नेपाली समुदायको बाक्लो उपस्थितिका कारण विश्वभर यस ट्रेलरले यति ठूलो सफलता प्राप्त गरेको बताइन्छ।

चलचित्रका निर्देशक सशान कँडेलले दर्शकको माया र समर्थनले टिमलाई थप हौसला मिलेको बताए। ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै १० लाख भ्युज पार गर्न सफल भएकाले यो चलचित्रप्रति दर्शकको उत्साह झल्किएको छ।

‘होस्टेल’ र ‘होस्टेल २’ को सफलतापछि निर्माण गरिएको यो तेस्रो प्रिक्वेलमा प्रवीण खतिवडा, पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारको अभिनय रहेको छ। यीमध्ये धेरै कलाकारले यो चलचित्रबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका छन्।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनिष सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शंकर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन्।

चलचित्रका छायाकार अर्जुन तिवारी, सम्पादक विकास दाहाल, द्वन्द्व निर्देशक हिमाल केसी रहेका छन् भने संगीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको योगदान रहेको छ। काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यका बाहिर आरआर फिल्म्सले यसको वितरण गर्नेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0