
पोखरा, १३ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा उनी ‘प्रथम महिला’ भनेर सम्बोधन गरिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद उत्पन्न भएको छ। राष्ट्रपति पत्नी कि प्रधानमन्त्रीकी पत्नी— को ‘प्रथम महिला’ ? भन्ने प्रश्नले बहस चुलिएको छ।
कार्यक्रमको ब्यानरमा नै राधिकालाई ‘प्रथम महिला’ भनेर उल्लेख गरिएपछि सामाजिक सञ्जालमा यसको कडा आलोचना भएको छ। कतिपयले यसलाई चाकडीको पराकाष्ठा भनेका छन्। संविधानविद्हरूले नेपालमा राष्ट्रपति ‘राज्य प्रमुख’ भएकाले उनको पत्नी नै ‘प्रथम महिला’ भन्ने मान्यता स्थापित हुनुपर्ने बताएका छन्। संविधानविद् भीमार्जुन आचार्यका अनुसार प्रधानमन्त्री पत्नीलाई प्रथम महिला भन्नु गलत अभ्यास हो। उनले राष्ट्रपतिको पत्नी नै प्रोटोकलअनुसार ‘प्रथम महिला’ मानिनुपर्ने धारणा राखेका छन्।
नेपाल राजपत्रअनुसार राष्ट्रपतिपत्नी प्रथम महिला, उपराष्ट्रपतिपत्नी द्वितीय महिला र प्रधानमन्त्रीपत्नी तृतीय महिला हुने प्रावधान रहेको बताइन्छ। विश्वव्यापी अभ्यासमा पनि राष्ट्राध्यक्षको पत्नीलाई ‘प्रथम महिला’ भन्ने गरिन्छ। तर, नेपालमा प्रधानमन्त्री कार्यकारी प्रमुख भएकाले कतिपयले प्रधानमन्त्री पत्नीलाई पनि प्रथम महिला भन्नुपर्ने तर्क अघि सारेका छन्।
यस विषयले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया निम्त्याएको छ। कतिपयले प्रधानमन्त्री पत्नीलाई सम्मान दिनु पर्ने भए पनि ‘प्रथम महिला’ भन्नु अनावश्यक भएको उल्लेख गरेका छन्। लोकतन्त्रमा यस्ता चाकडी प्रवृत्तिले गलत संस्कार बसाउने टिप्पणीसमेत सार्वजनिक भएका छन्।




























