पोखरा, १३ फागुन। नेपालमा कृषिमा विषादीको बढ्दो प्रयोगले स्वास्थ्य, वातावरण र कृषि प्रणालीमा गम्भीर असर पारिरहेको छ। पहिलेको परम्परागत कृषि प्रणाली प्रकृतिसँगको सन्तुलनमा आधारित थियो, तर पछिल्ला दशकहरूमा रासायनिक विषादीको अत्यधिक प्रयोगले जमिनको उर्वराशक्ति घटाउनुका साथै मानव स्वास्थ्यमा समेत दीर्घकालीन जोखिम बढाइरहेको छ।
शुरुवाती समयमा उत्पादन वृद्धिको आकर्षणका रूपमा विषादीलाई अपनाइए पनि हाल यसको गहिरो असर देखिन थालेको छ। विषादीको असन्तुलित प्रयोगले माटो, पानी र हावालाई प्रदूषित बनाउँदै खाद्यान्न प्रणालीलाई नै विषाक्त बनाइरहेको छ। तथ्याङ्कअनुसार, नेपालमा वार्षिक झन्डै १२ लाख किलो विषादी आयात हुन्छ, जसमा १ दशमलव ६ अर्ब रुपैयाँ खर्च हुने गरेको छ। रेमिट्यान्सबाट भित्रिएको डलर स्वास्थ्यमा हानिकारक विष किन्नेमा प्रयोग हुन थालेको चिन्ताजनक अवस्था छ।
अत्यधिक विषादी प्रयोगका कारण नेपालमा व्यावसायिक तरकारी खेतीका ८२ प्रतिशत उत्पादनमा मापदण्डभन्दा दोब्बर बढी विषादी अवशेष पाइने विभिन्न अध्ययनले देखाएका छन्। यसले खाद्य सुरक्षामै चुनौती खडा गरेको छ। स्वास्थ्य विज्ञहरूका अनुसार विषादीको असरले क्यान्सर, मिर्गौलारोग तथा अन्य दीर्घरोगहरूको जोखिम बढेको छ। नेपालमा दैनिक ४० जनाले क्यान्सरका कारण ज्यान गुमाउने तथ्यांक यसैसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
पर्यावरणीय दृष्टिकोणबाट हेर्दा, विषादी प्रयोगले जैविक विविधता तथा माटोको उर्वराशक्तिमा गम्भीर असर पुर्याएको छ। केही अध्ययन अनुसार, नेपालको अधिकांश कृषियोग्य जमिनमा जैविक पदार्थको मात्रा दुई प्रतिशतभन्दा तल झरिसकेको छ। विषादी पानी स्रोतमा मिसिँदा पशुपन्छी, वन्यजन्तु तथा मानव जीवनलाई नै असर पारिरहेको छ।
विषादीको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न सरकारले कडा नीति ल्याउनु जरुरी छ। विषादीमुक्त जैविक खेतीलाई प्रोत्साहन गर्ने, किसानलाई प्राकृतिक खेतीका तालिम दिने तथा जैविक उत्पादनलाई बजारमैत्री बनाउने उपायहरू अबका प्राथमिकता हुनुपर्छ। किसान, उपभोक्ता तथा सरकारी निकायहरूको सामूहिक प्रयासले मात्र विषादीको मोहलाई त्यागेर स्वस्थ, सुरक्षित र दीर्घकालीन कृषि प्रणाली निर्माण गर्न सकिन्छ।


























