पोखरा, १५ फागुन। चालू आर्थिक वर्षको सात महिनामा नेपालले २ खर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा मात्र ६६ अर्ब २० करोड रुपैयाँबराबरको जनावर तथा वनस्पतिजन्य बोसो र तेल भित्रिएको छ। खाद्यान्न, तरकारी, फलफूल र चिया-कफी लगायतका सामग्रीको आयातमा उल्लेख्य वृद्धि भएको छ।
खाद्यान्न मात्र ३६ अर्ब ३५ करोड रुपैयाँबराबरको आयात भएको छ भने तरकारी आयात २५ अर्ब रुपैयाँ पुगेको छ। आलु ५ अर्ब ४८ करोड, प्याज २ अर्ब १३ करोड, लसुन ६ अर्ब ८१ करोड, दाल ३ अर्ब ९७ करोड र फलफूल १२ अर्ब ३२ करोड रुपैयाँबराबरको आयात भएको छ। यस्तै, कृषिजन्य औद्योगिक कच्चा पदार्थको आयात १६ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
स्वदेशमै उत्पादन गर्न सकिने वस्तु समेत विदेशबाट आयात भइरहँदा नेपालको व्यापार घाटा थप बढेको छ। डिजेल, पेट्रोल, एलपी ग्यास, विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको आयात पनि उच्च रहेको छ।
नेपालमा ल्यापटप र ट्याबलेटको आयात समेत वृद्धि भएको छ। चालू आवको माघसम्ममा ७५ हजारभन्दा बढी ल्यापटप आयात हुँदा ५ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ। ट्याबलेट आयात ३२ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा ११ करोड ४५ लाख स्यानिटरी प्याड आयात हुँदा ८० करोड ८१ लाख रुपैयाँ बिदेसिएको छ भने डाइपर आयातमा मात्र १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ।
नेपालले चालू आवको सात महिनामा कुल ९ खर्ब ८८ अर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ। यसबाट सरकारले २ खर्ब ६२ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठाएको छ। वीरगन्ज, भैरहवा र विराटनगर भन्सार कार्यालयमार्फत सबैभन्दा बढी आयात भएको छ।































