पोखरा, १६ फागुन। शेर्पा समुदायले आज विविध कार्यक्रमका साथ ग्याल्पो ल्होसार मनाइरहेका छन्। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व नयाँ वर्षको रुपमा धूमधामसँग मनाउने गरिन्छ। यस वर्ष शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउँदै छन्।
ग्याल्पो ल्होसार १२ वर्गमा विभाजन गरिएको छ, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह रहेका छन्। फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरी यो पर्व भव्य रूपमा मनाइन्छ। ऐतिहासिक रूपमा भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाइँदै आएको ग्याल्पो ल्होसारलाई पछि विशेष नामकरण गरिएको इतिहासविद्हरू बताउँछन्।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मात्र सीमित यो पर्व हाल २२ जिल्लामा मनाइन्छ। शेर्पा समुदायको बसाइँसराइसँगै यसको विस्तार भएको हो। यसअघि पुस १५ गते गुरूङ समुदायले तमु ल्होसार र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाइसकेका छन्।



























