पोखरा, १६ फागुन। ‘नो केबलकार समूह’ले आगामी १७ गतेदेखि नयाँ आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ। समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका १४ जिल्ला, मधेस प्रदेश र काठमाडौंमा विरोध र जनप्रदर्शन गर्ने बताएको छ।
विज्ञप्तिमा उल्लेख छ कि फागुन १७ गते कोशीका १४ वटै जिल्लामा र मधेश प्रदेशमा जनप्रदर्शन र विरोध सभा गरिनेछ। त्यस्तै, फागुन १८ गते ग्लोबल जुम बैठक र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोध सभा आयोजना गरिनेछ।
समूहले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने कार्यक्रम पनि घोषणा गरेको छ।
यसअघि, समूहले वार्ताका लागि चार प्रमुख प्रस्ताव अगाडि राखेको थियो जसमा गिरफ्तार नागरिकको रिहाई, घाइतेको निःशुल्क उपचार, दोषीलाई कारबाही र मुक्कुम्लुङ क्षेत्रबाट सुरक्षाकर्मी र निर्माण सामग्री फिर्ता गर्ने माग गरिएको थियो।





























