पोखरा, १६ फागुन। मुस्ताङ जिल्लामा प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको पहिलो छ महिनामा पुँजीगत खर्च निराशाजनक देखिएको छ भने सङ्घीय कार्यालयको खर्च सन्तोषजनक पाइएको छ। जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार विनियोजित बजेटको अनुपातमा प्रादेशिक कार्यालयको खर्च अपेक्षाअनुसार नभएको जनाइएको छ।

कोष नियन्त्रक जब्बरबहादुर भण्डारीका अनुसार प्रादेशिक कार्यालयहरूमा नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरता जस्ता कारणले प्रादेशिक खर्च सन्तोषजनक हुन सकेको छैन भने सङ्घीय कार्यालयमा जनशक्ति यथावत रहने र बजेट खर्च राम्रो भएका कारण सन्तोषजनक देखिएको छ।

चालु आवका लागि तीन अर्ब ७९ करोड ८६ लाख ९० हजार बजेट विनियोजन गरिएको थियो जसमा एक अर्ब ६६ करोड खर्च भएको छ। मुस्ताङका पाँच स्थानीय तहलाई ९७ करोड ३८ लाख २७ हजार वित्तीय हस्तान्तरण बजेट विनियोजन भए पनि साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख मात्र हस्तान्तरण भएको छ।

सङ्घीय र प्रदेश कार्यालयबाट चालु आर्थिक वर्षको छ महिनामा पाँच करोड ६० लाख ३४ हजार राजस्व संकलन भएको छ। यसमा सङ्घीयतर्फ चार करोड २८ लाख ७४ हजार र प्रदेशतर्फ एक करोड ३१ लाख ५९ हजार संकलन भएको जानकारी दिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0