पोखरा, १७ फागुन। नेपाली विद्यार्थीमा पाठ्यपुस्तक बाहेकका पुस्तक पढ्ने संस्कृतिको अभाव रहेको भन्दै शिक्षाविद्हरूले पठनसंस्कृतिको विकासमा जोड दिएका छन्। पोखरामा जारी १२ औँ एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘विद्यालयमा पठनसंस्कृति’ सत्रमा वक्ताहरूले विद्यार्थीलाई समाज बुझाउन विविध पुस्तक अध्ययन अनिवार्य रहेको धारणा व्यक्त गरे।

सत्रमा बाल साहित्यकार सुरज उपाध्यायसँग कुराकानी गर्दै प्याब्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले पाठ्यपुस्तकलाई सीमित उद्देश्यका लागि मात्र प्रयोग गरिने भएकाले विद्यार्थीलाई समाजसँग परिचित गराउन अन्य पुस्तकहरू आवश्यक हुने बताए। ‘पठनसंस्कृति समाजको सभ्यता निर्माण गर्ने माध्यम हो। समाजसँग संवाद गर्न, धारणा बनाउन र सोचको दायरा फराकिलो पार्न यसले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने।

विद्यालयमा पठनसंस्कृति अभाव हुनुको कारण पाठ्यक्रमको सीमितता रहेको भण्डारीको भनाइ थियो। ‘पाठ्यक्रम विकास केन्द्रले निर्दिष्ट गरेका पाठ्यपुस्तक पढाउने बाध्यता हुँदा साहित्य अध्ययन सोचेजस्तो हुन सकेको छैन। तर, नयाँ प्रविधि र शैक्षिक प्रणाली अपनाएर परिवर्तन सम्भव छ,’ उनले विश्वास व्यक्त गरे।

May be an image of ‎1 person and ‎text that says '‎e LIT FES POWERED POWEREDBY BY won o 4 مر AopmeeHa فبها A ከ‎'‎‎

नवोदिप बोर्डिङ स्कुलकी सञ्चालक कौशल्या गुरुङले पठनसंस्कृति विकास गर्न अभिभावकको भूमिकालाई अनिवार्य बताइन्। ‘घरमै बालबालिकालाई पुस्तक दिनु, कथा सुनाउनुजस्ता अभ्यासले उनीहरूको पठन बानी बिकास गर्न सकिन्छ,’ उनले भनिन्।

गुरुङका अनुसार, पढ्ने बानीलाई प्रविधिसँग जोड्न सक्दा प्रभावकारी हुन्छ। ‘टिकटक, रिल्सजस्ता प्लेटफर्ममा पुस्तकको बारेमा भिडियो सामग्री बनाएर प्रवर्द्धन गर्न सकिन्छ। शिक्षालाई संगीतसँग जोड्न सके विद्यार्थीलाई झनै सजिलै बुझाउन सकिन्छ,’ उनले सुझाव दिइन्।

हिमालयन बोर्डिङ स्कुलका प्रधानाध्यापक टेकनारायण पौडेलले विद्यालयमा पाठ्यपुस्तक बाहेकका पुस्तकलाई उचित सम्मान नदिइएको बताए। ‘हामीले पाठ्यक्रमबाहेकका पुस्तकलाई नै महत्व नदिएर गल्ती गरिरहेका छौँ। पुस्तकले सिर्जनशीलता बढाउने, कला, साहित्य तथा जीवनोपयोगी शिक्षामा टेवा पु¥याउने भएकाले यसको अध्ययन प्रोत्साहन गर्नुपर्छ,’ उनले भने।

May be an image of ‎1 person, dais and ‎text that says '‎ITERATURE FESTIVAL (Buddha Buddha ~o~ مر مه tar 55 عى‎'‎‎

शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझेर पठनसंस्कृति विकासका लागि प्रयास गर्नुपर्ने पौडेलको सुझाव थियो। ‘बुक फ्री फ्राइडे’ जस्ता कार्यक्रमले एक दिन मात्र पुस्तकप्रतिको रूचि बढाउने भन्दा स्थायी समाधान खोज्न आवश्यक छ,’ उनले थपे।

कार्यक्रममा वक्ताहरूले परिवार, विद्यालय र समाज सबैले मिलेर विद्यार्थीलाई पाठ्यक्रमबाहेकका पुस्तकहरू अध्ययन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0