पोखरा, २० फागुन। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सरकारमाथि पुनः कडा आक्रोश पोखेका छन्। उनले सरकारले काठमाडौं महानगरको विषयमा गलत सूचना फैलाइरहेको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले सरकारको रवैया गैरजिम्मेवार रहेको टिप्पणी गरेका छन्।

बालेनले सरकारलाई ‘भ्रमको खेतीमा पीएचडी गर्न लायक’ भएको व्यंग्य गर्दै आफ्नो कार्यकालमा हटाइएका कार्यकारी अधिकृतबारे स्पष्ट पारेका छन्। उनले चार जना कार्यकारी हटेको स्वीकार्दै, तीमध्ये दुई जनालाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै महानगरले हटाएको र बाँकी दुई जनालाई सरकारले जानकारी नै नदिई हटाएको उल्लेख गरे। सरकार आफैंले असल कार्यकारीलाई हटाएर महानगरमा प्रमुख कार्यकारी नटिक्ने भनेर भ्रम फैलाइरहेको उनको आरोप छ।

उनले महानगरका महत्वपूर्ण विकास योजनाहरूलाई अवरुद्ध गर्न सरकार नै लागि परेको आरोपसमेत लगाए। विशेषगरी भ्यू टावर निर्माणसम्बन्धी नक्सा पासको विषयमा आफूलाई गलत ढंगले दोषारोपण गरिएको उनको भनाइ छ। कानुनअनुसार नक्सा पास गर्ने अधिकार कार्यपालिकालाई हुने र त्यससम्बन्धी निर्णय आफूले नगरेको स्पष्ट पारे।

बालेनले महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले दंगाग्रस्त क्षेत्र वा अपराध नियन्त्रणका लागि सुरक्षा अधिकारीहरू पठाउन सक्दैन भन्ने अवस्था आउन सक्ने चेतावनी दिए। उनले सरकारले असल शासनको लागि ठोस कदम चाल्नुपर्ने र भ्रम फैलाउने रणनीति त्याग्नुपर्नेमा जोड दिए। महानगरलाई अवरोध गरे पनि सुशासनको लडाइँ नछोड्ने उनको अडान छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0