पोखरा, २० फागुन। नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोमबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रममा नेपालका खानेपानीमन्त्री प्रदीप यादव र भारतका जलशक्तिमन्त्री सिआर पाटीलले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठका अनुसार यो सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, फोहोर व्यवस्थापन तथा सरसफाइ प्रवर्द्धनलाई सशक्त बनाउने लक्ष्य राखेको छ। यसले दुबै देशबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवर्द्धन गर्दै अन्तर–सरकारी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्झौतामा भूमिगत पानी व्यवस्थापन, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि आदान–प्रदान, प्रविधि साझेदारी तथा नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग प्रदान गर्ने विषय समेटिएको छ। जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयासहरूलाई सुदृढ गर्दै सुरक्षित वातावरणमा नागरिकको जीवनस्तर सुधार्ने उद्देश्य पनि राखिएको छ।

नेपालका लागि भारतीय राजदूतावासले यो समझदारीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ। विशेष गरी फोहोरमैला व्यवस्थापन, सरसफाइ तथा खानेपानी क्षेत्रमा पारस्परिक सहकार्य बढ्दै जाने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0