पोखरा, २० फागुन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको पछिल्लो भेटघाट तीव्र बहस र आरोप-प्रत्यारोपका कारण चर्चामा रह्यो। वासिङ्टन डीसीमा खनिज सम्झौतासम्बन्धी छलफलका लागि पुगेका जेलेन्स्की खाली हात फर्कन बाध्य भए।
अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले जेलेन्स्कीलाई ‘बैगुनी’ भएको आरोप लगाएपछि अवस्था जटिल बनेको थियो। ट्रम्पले झन् तीखो अभिव्यक्ति दिँदै युक्रेन तेस्रो विश्वयुद्धतर्फ उन्मुख भएको दाबी गरे। यस क्रममा जेलेन्स्कीले आफ्नो बचाउ गर्न प्रयास गरे तापनि अमेरिकी नेतृत्वले उनलाई समर्थन नगरेको देखियो।
युक्रेनी जनताले भने आफ्ना राष्ट्रपतिप्रति दृढ समर्थन जनाएको स्काई न्यूजको सर्वेक्षणले देखाएको छ। किभका बासिन्दाहरूले अमेरिका जेलेन्स्कीलाई राजीनामा गराउन चाहेपनि आफूहरू उनको पक्षमा रहेको बताएका छन्। किभका ३० वर्षीय निकिता भन्छन्, ‘हामीले नै चुनेका राष्ट्रपति भएकाले हामी उहाँलाई पूर्ण विश्वास गर्छौं।’
यता, युरोपेली संघले युक्रेनको सैन्य तथा आर्थिक सहायता सुनिश्चित गर्न नयाँ रणनीति अघि सार्नुपर्ने देखिएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले युरोपको सुरक्षाका लागि २०० अर्ब युरो जुटाउनुपर्ने बताए। आगामी मार्च ६ मा हुने युरोपेली परिषद् बैठकमा युक्रेनलाई सहयोगका लागि नयाँ सैन्य प्याकेजबारे छलफल गरिनेछ।
जेलेन्स्कीले कुनै पनि शान्ति सम्झौतामा युक्रेनी भूमि रुसलाई दिन अस्वीकार गरेका छन्। उनले यस्तो सम्झौता आत्मसमर्पणसरह हुने स्पष्ट पारेका छन्। ट्रम्पसँग पुनः भेट्न तयार रहेको बताएका जेलेन्स्की अमेरिका र युरोप दुवैको समर्थन जुटाउन कूटनीतिक प्रयास जारी राख्ने अडानमा रहेका छन्।




























