पोखरा, २० फागुन। अब कम्पनी दर्ता नगरी अनलाइन व्यापार/व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ। विद्युत् व्यापार ऐन (ई–कमर्स) अनुसार अब दर्ता गरेर मात्रै अनलाइन व्यापार/व्यवसाय सञ्चालन गर्न पाइने भएको हो। विद्युत् व्यापार ऐन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भइसकेको छ। दुवै सभाबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयन हुनेछ।

अनलाइनमार्फत हुने अव्यवस्थित व्यापार/व्यवसायलाई नियमन गर्न ल्याइएको विद्युत् व्यापार ऐन (ई–कमर्स) मा विद्युतीय व्यापारअन्तर्गत वस्तुका साथै सेवा क्षेत्र (विद्युत्, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा परामर्श, ढुवानी, पर्यटन, मनोरञ्जन, यातायात, ढल निकास, बैंकिङ, बीमा, कानुनी, लेखा परीक्षण, चिकित्सा, इन्जिनियरिङ वा यस्तै प्रकृतिका सेवा) समावेश गरिएको छ। कुनै पनि वस्तु वा सेवाको व्यापार गर्न अनुमति प्राप्त गरेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाले ऐनको अधीनमा रही व्यापार सञ्चालन गर्नुपर्ने छ। यदि अनलाइन व्यापार गर्नेले विद्युतीय प्लेटफर्म स्थापना नगरी विद्युतीय व्यापार गरेमा, सूचीकरण नगरी व्यवसाय सञ्चालन गरेमा र वस्तु वा सेवासम्बन्धी विवरण नखुलाई व्यापार गरेमा निरीक्षण अधिकृतले न्यूनतम १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था विधेयकमा उल्लेख छ।

पछिल्लो समय प्रायः अनलाइन सपिङमा उपभोक्ताहरू ठगिँदै आएका छन्। अनलाइन सपिङमा अग्रिम भुक्तानी लिने, अनलाइनमा देखाएभन्दा फरक मालसामान पठाउनेलगायत गुनासाहरू अत्यधिक बढ्दै गइरहेका छन्। सामाजिक सञ्जालमार्फत गरिने व्यापार/व्यवसायमा आम उपभोक्ताहरूले विश्वास गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको छ। त्यसको कारण भनेको अनलाइनमार्फत हुने ठगी नै हो।

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विधेयकलाई पहिलो पटक राष्ट्रिय सभामा दर्ता गरेका थिए। अनलाइनबाट हुने ठगी र अनलाइनको विश्वसनीयता बढाउन यो ऐन ल्याइएको पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रिजाल बताउँछन्। अनलाइनमार्फत हुने ठगीलाई न्यूनीकरण गर्नुका साथै अनलाइन व्यापारलाई विश्वसनीय बनाउने उनको भनाइ छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दैनिक ४० वटासम्म अनलाइन ठगीका उजुरीहरू आउने गरेका छन्। विभागमा ३० प्रतिशत उजुरी अनलाइन व्यापार ठगसम्बन्धी आउने गरेका छन्। यसका साथै साइबर ब्यूरोमा पनि अनलाइन ठगीका उजुरीहरू बढ्दै गइरहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0