पोखरा, २५ फागुन। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र डिन कार्यालयमा भएको तोडफोडप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीहरूलाई कारबाही गर्न माग गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै त्रिविले सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने कार्यलाई क्षम्य नहुने अपराध भन्दै सम्बन्धित निकायलाई छानबिन गरी कानुनी कठघरामा ल्याउन आग्रह गरेको छ।
त्रिविले तोडफोडको घटनालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न हुन नदिने नियतबाट प्रेरित भएको जनाएको छ। यही ५ चैतमा देशभरका क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदैछ। त्रिविको भनाइअनुसार शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयमा गरिएको आक्रमण योजना अनुसार नै गरिएको हो।
शुक्रबार भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन त्रिविले नेपाल सरकार र गृह मन्त्रालयसँग विशेष आग्रह गरेको छ। विश्वविद्यालयले कुनै पनि हालतमा शैक्षिक संस्थामा आक्रमण र तोडफोडजस्ता गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।




























