
पोखरा, ३ चैत्र। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपालगायत दल सम्मिलित समाजवादी मोर्चाले सरकारको अलोकतान्त्रिक रवैयाका कारण राजावादी धारणा पुनः सक्रिय हुन थालेको दाबी गरेको छ। मोर्चाले यही चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रदर्शनसहितको जनसभा गर्ने तयारी गरिरहेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेताहरूले वर्तमान सरकारको स्वेच्छाचारी शैलीका कारण लोकतान्त्रिक मूल्य–मान्यताको उपहास भएको आरोप लगाए। उनीहरूले भ्रष्टाचार, कमिशन र कालोबजारीले देशको अर्थतन्त्र संकटग्रस्त बनेको तथा जनताको जनजीविका झन् कठिन बन्दै गएको बताए। मोर्चाका नेताहरूका अनुसार सरकार विचौलिया र दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित हुँदा नागरिकहरू निराश भई राजावादी शक्तिहरूलाई मलजल पुग्ने अवस्था सिर्जना भएको छ।
मोर्चाले सरकार अध्यादेशमार्फत शासन चलाउन उद्धत रहेको, सदनलाई छल्ने तथा संसद्मा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू रोकेर राख्नेजस्ता कदम चालेको आरोप लगाएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि बढ्दै गएको छ। यसले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रको स्वाधीनता तथा नेपाली जनताको समाजवादको यात्रामा चुनौती थपेको छ।’
मोर्चाले सरकारको निरंकुश शैली, गलत क्रियाकलाप तथा जनविरोधी गतिविधिका कारण जनतामा असन्तुष्टि गहिरिएको बताएको छ। ‘यही असन्तुष्टिको फाइदा उठाउँदै प्रतिगामी तत्वहरूले गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेका छन्। यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु अहिलेको मुख्य राष्ट्रिय कार्यभार हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

























