पोखरा, ३ चैत्र। इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा स्ववियु चुनावको माहोल शान्त छ। अन्य क्याम्पसहरूमा तोडफोड र तनावग्रस्त अवस्था देखिए पनि पुल्चोकमा भने स्वस्थ प्रतिस्पर्धा हुँदैछ। यहाँ उम्मेदवारहरू नारा-जुलुसविहीन चुनावी अभियानमा छन्। प्रचारप्रसारको मुख्य माध्यम सामाजिक सञ्जाल बनेको छ, जसले यहाँको चुनावी शैलीलाई फरक बनाएको छ।

५ चैतमा हुने स्ववियु चुनावका लागि क्याम्पस प्राङ्गणमा पर्चा-पम्प्लेट छैनन्। उम्मेदवारहरू व्यक्तिगत रूपमा मतदातासँग भेटिरहेका छन्, एकअर्कालाई अंकमाल गर्दै समर्थन मागिरहेका छन्। ‘नारा जुलुसले भन्दा सामाजिक सञ्जालले प्रभाव पार्छ’ भन्ने विश्वासका कारण फेसबुक र अन्य डिजिटल माध्यमबाट मतदाता आकर्षित गर्न खोजिएको हो।

विद्यार्थीहरू यसपटकको प्रचार शैलीलाई फरक अनुभव गरिरहेका छन्। स्नातक तहका विद्यार्थी भेक्टर रिजाल भन्छन्, ‘मत माग्न उम्मेदवारहरू प्रत्यक्ष रूपमा आएका छन्, तर प्रचार भने फेसबुकमै सीमित छ।’ पुल्चोकमा शान्त वातावरणमा चुनावी गतिविधि चलिरहँदा अन्य क्याम्पसहरूमा भने अशान्ति देखिएको छ। ‘थापाथलीमा तोडफोड भयो, तर यहाँ केही भएन,’ रिजालले थपे।

स्ववियु अध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धीहरूका आआफ्नै योजना छन्। अघिल्लो कार्यकालमा अध्यक्ष रहेका विराज अर्याल पुनः मैदानमा छन्। उनले पहिलो कार्यकालमा क्याम्पसका विभिन्न भौतिक पूर्वाधार सुधारको पहल गरेको बताउँदै अब नीतिगत सुधारका योजनासहित उम्मेदवारी दिएका छन्। पानीको समस्या समाधान, क्रिकेट मैदान स्तरोन्नति, नयाँ होस्टेल निर्माणका लागि समन्वय र सिपमूलक तालिम आयोजना गर्ने उनको योजना छ।

नेविसंघका उम्मेदवार रिसब गिरीले स्टार्टअप प्रवर्द्धन र पेड इन्टर्नको अवधारणा अगाडि सारेका छन्। उनले विद्यार्थीका लागि इनोभेसन, रिसर्च तथा उद्यमशीलता विकासका कार्यक्रम ल्याउने योजना सुनाएका छन्। अखिल क्रान्तिकारीका उम्मेदवार रसिक लम्साल भने पुल्चोकको शैक्षिक गुणस्तर उचाइमा पुर्याउने योजनासहित चुनावी प्रतिस्पर्धामा छन्। उनले खानेपानी, इन्टरनेट जस्ता आधारभूत सुविधाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

अनेरास्ववियुका उम्मेदवार आयुष सापकोटाले क्याम्पसमा देखिएको प्रशासनिक कमजोरी सुधार्ने लक्ष्य राखेका छन्। शिक्षकहरूको जवाफदेहिता बढाउने, अध्ययन वातावरण सुधार्ने, रिसर्च फेयर आयोजना गर्ने उनको योजना छ।

पुल्चोकमा दलगत उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहँदा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ र दीपक जोशीले फरक धारणा प्रस्तुत गरेका छन्। उनीहरू ‘विद्यार्थीको प्रतिनिधि विद्यार्थी नै हुनुपर्छ’ भन्ने मान्यताका साथ चुनावी मैदानमा छन्। श्रेष्ठले १६ बुँदे योजना सार्वजनिक गरेका छन् भने जोशीले क्याम्पसका आधारभूत सुविधाको सुधार गर्ने प्रतिज्ञा गरेका छन्।

स्ववियु निर्वाचनमा ३८०७ मतदाता छन्। मतदान इलेक्ट्रोनिक मेसिनबाट हुनेछ, जसका कारण एक घण्टाभित्रै नतिजा आउने बताइएको छ। पुल्चोक क्याम्पस प्रमुख सञ्जिव उप्रेतीका अनुसार चुनावलाई उत्सवका रूपमा लिइएको छ। यसपटकको स्ववियु निर्वाचन शान्तिपूर्ण, डिजिटल प्रचारसहितको फरक अभ्यास बन्ने देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0