पोखरा, ७ चैत्र। स्याङ्जामा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पाँच क्याम्पसमध्ये चारवटामा नेपाली विद्यार्थी संघ (नेविसंघ) र एक क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनको नतिजाअनुसार वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसंघले सभापतिमा जित निकालेको छ भने सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जित दर्ता गरेको छ।
स्याङ्जाको सबैभन्दा बढी मतदाता रहेको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका निरज श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। सचिव पदबाहेक अन्य सबै पदमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् भने सचिवमा अनेरास्ववियुकी बिना रेग्मीले जित हासिल गरेकी छिन्।
यस्तै, जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका देवदत्त सुवेदीको प्यानल विजयी भएको छ। उता, फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी प्रतीक्षा गोदार सभापतिमा निर्वाचित भएकी छिन्। समानुपातिकतर्फ भने नेविसंघ र अनेरास्ववियुका दुई–दुई जना प्रतिनिधि चयन भएका छन्।
गल्याङको मालुंगा सार्वजनिक बहुमुखी क्याम्पसमा नेविसंघका गोविन्द भण्डारी र चापाकोटको राधादामोदर संस्कृत विद्यापीठमा नेविसंघकै रविन भट्टराई सभापति चयन भएका छन्। यी दुई क्याम्पसमा सहमतिका आधारमा स्ववियु गठन गरिएको छ।
यसैबीच, कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पस र गल्याङ बहुमुखी क्याम्पसमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। मिर्मी बहुमुखी क्याम्पसमा सहमतिको प्रयास भइरहँदा नेकपा एमाले पक्षले एकलौटी निर्णय गर्न खोजेको भन्दै क्याम्पस सञ्चालक समितिका १२ सदस्यले सामूहिक राजीनामा दिएका छन्। क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले सहमति कायम गर्न पहल जारी रहेको जानकारी दिए।































