पोखरा, ८ चैत्र। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि थालेको कूटनीतिक प्रयासले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेपछि यो पहललाई अहिलेसम्मकै ‘सघन प्रयास’ भनेर व्याख्या गरिएको छ। तर, युद्ध अन्त्यको तत्काल सम्भावना भने टाढिँदै गएको देखिन्छ।

ट्रम्पले अघि सारेको ३० दिने युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेका छन्। रुसले युक्रेनका ऊर्जा संरचनामाथि आक्रमण नगर्ने आश्वासन दिए पनि तत्काल युद्ध रोक्ने सम्भावना नदेखिएको विश्लेषकहरूले बताएका छन्। अर्कोतर्फ, युक्रेनले आफ्नो सार्वभौमसत्तामाथि सम्झौता गर्न अस्वीकार गर्दै रुससँग कुनै पनि अपमानजनक सर्त स्वीकार्न नसकिने बताएको छ।

ह्वाइट हाउसले ट्रम्पलाई कुशल ‘सम्झौताकार’का रूपमा प्रस्तुत गर्न खोजे पनि पुटिनको अडानले वास्तविकता फरक देखाएको छ। विश्लेषकहरूका अनुसार पुटिन अहिले पनि पश्चिमी शक्तिलाई दबाब दिने रणनीतिमा छन्। उनले अमेरिकी सैन्य सहायता रोक्नुपर्ने शर्त अघि सारेका छन्, जसलाई युक्रेनले अस्वीकार गरिसकेको छ।

युद्धविरामबारे कुनै ठोस सहमति नभए पनि ह्वाइट हाउसले आगामी दिनमा साउदी अरबमा रुस-युक्रेनबीच प्राविधिक वार्ता हुन सक्ने संकेत दिएको छ। ट्रम्पको कूटनीति सफल हुने वा चुनावी रणनीति मात्र हो भन्नेबारे विभिन्न विश्लेषण भइरहेको छ। यद्यपि, पुटिनको अहिलेसम्मको अडानले छिट्टै शान्ति सम्झौता हुने सम्भावना कमजोर देखिन्छ।

युक्रेनले पश्चिमी गठबन्धनसँग पनि वार्ता अघि बढाइरहेको छ। यदि ट्रम्पले सैन्य सहयोग घटाउने निर्णय गरे भने युरोपेली मुलुकहरूले छुट्टै सुरक्षा रणनीति बनाउने तयारी गरिरहेका छन्। युक्रेनले युरोपियन युनियनको सदस्यता प्रक्रिया अघि बढाउनुपर्ने माग गर्दै स्थायी शान्ति र सुरक्षा प्रत्याभूति आवश्यक रहेको बताएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0