पोखरा, ९ चैत्र। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक विकासको मार्गमा अघि बढिरहेको बताएका छन्। पश्चिम नवलपरासीको परासीमा आयोजित नेपाली कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारमा विकास भइरहेकाे उल्लेख गरे।

महामन्त्री थापाले २०४६ सालपछि नेपालमा विभिन्न क्षेत्रमा उल्लेखनीय विकास भएको बताउँदै मुलुकको विकासलाई नकारात्मक रूपमा चित्रण गर्नु उचित नहुने धारणा राखे। उनले नेपाली युवाहरूलाई गलत सन्देश प्रवाह गर्न नहुने बताउँदै, स्वरोजगारका अवसर सिर्जना गरी विदेश पलायनदर रोक्न आवश्यक रहेको बताए।

उनले सामाजिक सञ्जालको सकारात्मक उपयोग गर्न आग्रह गर्दै विकासका उपलब्धिहरूलाई हेरेर मात्रै निष्कर्ष निकाल्नुपर्ने बताए। उनले राजनीतिक दल र तीनै तहका सरकारले नागरिकका असन्तुष्टिहरूलाई सम्बोधन गर्दै सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिए।

उनले वर्तमान सरकार मुलुकमा रहेका बेथिति र समस्या समाधानका लागि प्रतिबद्ध रहेको भन्दै सबै पक्षले सहकार्य गर्नुपर्ने बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0