पोखरा, १२ चैत। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कडा आपत्ति जनाएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेपछि सत्तारुढ दलकै नेताहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। महामन्त्री थापाले मन्त्रीहरूले गलत निर्णय गर्दा प्रधानमन्त्रीले त्यसलाई सुधार्नुपर्ने भए पनि त्यसो नभएकोमा दुःख व्यक्त गरे। “हामीले सचेत गराउँदा पनि सरकारले गलत निर्णय गर्यो,” उनले भने, “उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।”
महामन्त्री शर्माले पनि सरकारको निर्णयलाई अनुचित ठहर गर्दै कुलमानलाई पदावधि पूरा गर्न दिनुपर्ने धारणा राखे। “सरकारले राम्रा प्रयासलाई छायामा पार्ने काम गऱ्यो,” उनले भने, “यो निर्णय समयोचित थिएन र यसप्रति हाम्रो स्पष्ट विमति छ।”
थापाले आम नागरिकको असन्तुष्टि बढ्दै गएको बताउँदै सरकार आफैं असन्तोषको आगोमा मट्टितेल हाल्ने काम गरिरहेको आरोप लगाए। “नागरिक आक्रोशित छन्, यस्तो बेलामा सरकारबाट सही निर्णयको अपेक्षा गरिन्छ,” उनले भने।































