पोखरा, १२ चैत्र। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालन भएका तथा सञ्चालन गर्न चाहने सामाजिक सञ्जालहरूलाई ३० दिनभित्र सूचीकृत हुन निर्देशन दिएको छ। मन्त्रालयले सूचना जारी गर्दै तोकिएको समयभित्र सूचीकरण नभए ती प्लेटफर्महरूलाई नेपालमा सञ्चालनमा रोक लगाइने चेतावनी दिएको हो।
‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ अनुसार नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गराउनु पर्ने प्रावधान रहेको छ। सूचीकरणका लागि निर्देशिकाको अनुसूची-१ अनुसार आवश्यक कागजात संलग्न गरी निवेदन दिनुपर्ने छ। साथै, प्रत्येक सामाजिक सञ्जालले नेपालभित्र सम्पर्क विन्दु तोक्नुपर्ने, आवासीय गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।
हालसम्म भाइबर मिडिया एस.ए.आर.एल, टिकटक पीटीई.एलटीडी र सारांश मिडिया ल्याब प्रा.लि. (विटक) मात्र सूचीकृत भएका छन्। अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू पनि चाँडो सूचीकृत हुन मन्त्रालयले आह्वान गरेको छ।
निर्देशिकाको दफा ३ को उपदफा (७) अनुसार सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सकिने कानुनी प्रावधान रहेको छ। मन्त्रालयले सूचनामार्फत सूचीकृत नभएका प्लेटफर्महरूलाई तोकिएको समयसीमा भित्र सूचीकरण प्रक्रियामा सामेल हुन पुनः आग्रह गरेको छ।































