पोखरा, १४ चैत्र। उपत्यकामा हुने राजावादी र गणतन्त्रवादी प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा सतर्कता कडा पारिएको छ। नेपाल प्रहरीले भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनका लागि ट्राफिक प्रहरीबाहेक २,५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ। आवश्यकतानुसार थप सुरक्षाकर्मी तैनाथ गर्न प्रहरी संयन्त्रलाई ‘स्ट्यान्डबाई’ राखिएको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जनाएका छन्।
त्यस्तै, उपत्यकाको सवारी आवागमनलाई व्यवस्थित गर्न १,८०० ट्राफिक प्रहरी आलोपालो तैनाथ गरिनेछ। गणतन्त्र पक्षधरहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता विरुद्ध भृकुटीमण्डपमा बिहान ११ बजेबाट प्रदर्शन गर्नेछन् भने दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले तीनकुनेमा दिउँसो १ बजेबाट सभा गर्नेछ। आन्दोलनका कारण उपत्यकाको सवारी आवागमन प्रभावित हुने अनुमान गरिएको छ।




























