पोखरा, १५ चैत्र। राजधानी काठमाडौंमा आज गणतन्त्रवादी र राजतन्त्रवादीहरू आआफ्नै पक्षमा प्रदर्शन गर्दै छन्। गणतन्त्र पक्षधरहरूले भृकुटीमण्डपमा भेला हुनेछन् भने राजतन्त्र पुनर्स्थापनाका पक्षधरहरूले तीनकुनेमा प्रदर्शन गर्नेछन्।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शनको तयारी गरेका छन्। बबरमहलबाट सुरु हुने उनीहरूको जुलुस माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्ग पुग्नेछ। साथै, राजधानीका विभिन्न स्थानबाट छुट्टाछुट्टै जुलुस निकालेर भृकुटीमण्डपमा एकत्रित गरिनेछ।
उता, राजसंस्था पुनर्स्थापनाका पक्षधरहरूले पूर्वराजाका समर्थकहरूसँग मिलेर प्रदर्शन गर्दैछन्। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहकार्य गर्दै राजधानीमा प्रदर्शनको योजना बनाएको छ। प्रशासनले उनीहरूलाई रिङरोड बाहिर मात्रै प्रदर्शन गर्न अनुमति दिएको छ।




























