पोखरा, १५ चैत्र। संयुक्त राज्य अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले बिहीबार एक व्यापक पुनर्संरचना योजनाको घोषणा गर्दै १० हजार रोजगारी कटौती गर्ने निर्णय गरेको छ। मन्त्रालयले आफ्नो कार्यबललाई ८२ हजारबाट घटाएर ६२ हजारमा सीमित गर्ने जनाएको छ।
यो कटौतीमा १० हजार कर्मचारीको बर्खास्ती समावेश छ भने थप १० हजार कर्मचारी स्वेच्छिक अवकाश वा खरिद प्रस्तावमार्फत सेवाबाट अलग हुनेछन्। कटौतीको मुख्य असर सार्वजनिक स्वास्थ्य निकायहरूमा पर्नेछ। खाद्य तथा औषधि प्रशासन (एफडीए) ले ३,५०० पद हटाउनेछ भने संक्रामक रोगहरूको अनुगमन गर्ने रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) बाट २,४०० कर्मचारीको रोजगारी जानेछ।
यस्तै, अग्रणी जनस्वास्थ्य अनुसन्धान संस्था नेसनल इन्स्टिच्युट फर हेल्थ (एनआईएच) बाट १,२०० कर्मचारी कटौती गरिनेछ। वृद्ध र गरिब अमेरिकीहरूको स्वास्थ्य सेवा कार्यक्रम मेडिकेयर र मेडिकेड निरीक्षण गर्ने केन्द्रहरूबाट पनि ३०० रोजगारी हटाइनेछ।
सरकारको यो कदमले अमेरिकी स्वास्थ्य सेवा प्रणालीमा असर पर्ने अनुमान गरिएको छ।


























