पोखरा, १५ चैत्र। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा संक्रमणकालीन न्यायको प्रक्रिया निष्पक्ष हुन नसकेको टिप्पणी गरेका छन्। उनले अहिले न्यायालय हारेको र राजनीतिले जितेजस्तो अवस्था बनेको भन्दै यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्ने चेतावनी दिए।
काठमाडौंमा आयोजित ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी’ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले न्यायालयको अधिकारसमेत कमजोर बनाइएको बताए। उनले सत्य निरुपण आयोग गठनका प्रक्रिया मात्रै अगाडि बढाइए पनि वास्तविक पीडितका मुद्दाहरू सम्बोधन हुन नसकेको गुनासो गरे।
श्रेष्ठले अहिलेसम्म शान्ति प्रक्रियालाई फौजदारी न्याय छल्ने माध्यमको रूपमा मात्र प्रयोग गरिएको आरोप लगाए। उनले संक्रमणकालीन न्यायमा राजनीतिले जित्ने र न्यायालय हारेको अवस्था नबनोस् भन्ने चेतावनी दिँदै कानुनी प्रक्रियालाई उचित रूपमा अगाडि बढाउन आग्रह गरे।
सम्मेलनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए।
श्रेष्ठले न्यायिक प्रक्रियालाई विश्वसनीय बनाइएन भने ‘द्वन्द्व व्यवसायी’ पल्कने खतरा रहेको बताए। उनले पीडितलाई न्याय दिनु आवश्यक भए पनि पीडकलाई जोगाउने काम गर्न नहुने उल्लेख गरे।
उनले अहिलेसम्म भएका कामहरू आधारभूत चरणमा मात्रै सीमित रहेको बताउँदै, न्यायिक प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने धारणा राखे। उनले १८ वर्ष बितिसक्दा पनि शान्ति प्रक्रिया टुंगोमा नपुगेकोप्रति गम्भीर प्रश्न उठाए।


























