पोखरा, १५ चैत्र। पोखराको शिक्षाक्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित प्रतिभा एजुकेसन फाउण्डेसनले ‘एभरग्रीन एकेडेमी’ स्थापना गरेको छ। तेर्सापट्टिस्थित पूर्वकल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक संरचना निर्माण गरी विद्यालय सञ्चालनमा ल्याइएको हो।
नवस्थापित एकेडेमीले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी शैक्षिक सत्रदेखि टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु गरिने जानकारी दिएको छ। साथै, विद्यालयले आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्मको पढाइ विस्तार गर्ने योजना बनाएको छ। अत्याधुनिक सुविधासहित सञ्चालन हुने एकेडेमीमा हेल्थ डेस्क, साइन्स ल्याब, पुस्तकालय, लिफ्टजडित भवनलगायत संरचना रहनेछन्।
प्रतिभा मावि सञ्चालन गर्दै आएको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार विद्यार्थीको बौद्धिक विकास, सिर्जनात्मकता र व्यक्तित्व निर्माणलाई ध्यानमा राखेर एकेडेमी स्थापना गरिएको हो। उनका अनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (स्टीम) मा आधारित शिक्षा प्रणाली अवलम्बन गरिनेछ।
विद्यालयले समावेशी र विद्यार्थी केन्द्रित शिक्षालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। एकेडेमीका निर्देशक किरण सापकोटाका अनुसार पाठ्यपुस्तकमा मात्रै केन्द्रित नभई विद्यार्थीलाई जीवनोपयोगी सीप प्रदान गरिनेछ। विद्यार्थीको प्राकृतिक जिज्ञासा र अन्वेषण क्षमतालाई विकसित गर्ने पद्धति अपनाइने उनले जानकारी दिए।
एभरग्रीन एकेडेमीमा हाइजेनिक खाजा व्यवस्था, अत्याधुनिक साइन्स तथा कम्प्युटर ल्याब, एसीयुक्त बस सेवा, प्रत्येक विद्यार्थीका लागि व्यक्तिगत दराजको व्यवस्था रहनेछ। विद्यालय पोशाक अनिवार्य नगरिएको जनाइएको छ।
करिब ५० करोडको लागतमा निर्माण गरिएको विद्यालयको भवन निर्माण कार्य अझै जारी रहेको फाउण्डेसनले जनाएको छ।































