काठमाडौं, १५ चैत। राजधानी काठमाडौंमा आज गणतन्त्रवादी र राजावादी समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। बिहानैदेखि विभिन्न चोकहरूमा झण्डा-ब्यानरसहित समर्थकहरू भेला हुन थालेका छन्। गणतन्त्रवादीहरू प्रदर्शनीमार्गमा र राजसंस्थाको पुनर्स्थापनाको पक्षधरहरू तिनकुनेमा प्रदर्शन गर्ने तयारीमा छन्।
गणतन्त्र समर्थक समाजवादी मोर्चाले सरकारलाई भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न प्रदर्शन गर्न लागेको हो। मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध छन्। राजधानीका बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायत स्थानबाट समर्थकहरूको जुलुस निकालिएको छ, जो प्रदर्शनीमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ।
उता, राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले तिनकुनेमा प्रदर्शन गर्दैछन्। भक्तपुर, जोरपाटी, बौद्ध, चाबहिल, गोंगबु, सामाखुशी, कलंकी लगायतका क्षेत्रबाट र्याली निकालेर तिनकुनेमा सभा गर्ने तयारी छ। केही समूह दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तिनकुनेतर्फ जाँदैछन्।
आइतबारदेखि सुरु भएको एसईई परीक्षा चलिरहेकोले १२ बजेपछि मात्रै प्रदर्शन गर्ने भनिए पनि बिहान ११ बजेदेखि नै जुलुसहरू सडकमै निस्किन थालेका छन्। दुबै पक्षका प्रदर्शनकारीहरू जम्मा भइरहेकाले ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको छ। सुरक्षालाई ध्यानमा राख्दै प्रहरी प्रशासनले संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।


























