काठमाडौं, १५ चैत। राजधानीको तिनकुनेमा राजावादी समूह र सुरक्षाकर्मीबीच तनाब उत्पन्न भएको छ। निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीहरूलाई रोकेको थियो, जसका कारण स्थिति केहीबेर तनावपूर्ण बनेको हो।
राजावादी समूहले प्रदर्शनलाई आक्रमक बनाउँदै निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए। दुवै पक्षबीच धकेलाधकेलसमेत भएको छ। प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ।
काठमाडौं उपत्यकामा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजावादी समूहले आ-आफ्नो प्रदर्शन गरिरहेका छन्। समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा शक्ति प्रदर्शन गरिरहेको छ भने राजावादीहरू तिनकुने क्षेत्रमा भेला भएका छन्।
प्रदर्शनस्थलमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने भिड नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


























