काठमाडौं, १५ चैत्र। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अराजक गतिविधिमार्फत राजा बन्ने मोह त्याग्न आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा राजावादीको आन्दोलन हिंसात्मक बनेपछि महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक संविधान स्वीकार्न र असन्तुष्टिको हल शान्तिपूर्ण रूपमा खोज्न सुझाव दिएका छन्।
‘अराजक मार्गबाट ‘अनुदार राज’ फिर्ताको मोह त्याग्न पूर्वराजालाई आग्रह,’ शर्माले लेखेका छन्, ‘असन्तुष्टिको हल खोज्ने छौँ हामी, नागरिकले बनाएको संविधान भित्रैबाट।’
उनले हिंसात्मक प्रदर्शनको निन्दा गर्दै निर्दोष नागरिकका घरमा आगजनी, सञ्चारमाध्यममाथि आक्रमण प्रयास, सपिङ मल तोडफोड र राजनीतिक दलका कार्यालय जलाउने कार्यलाई संवैधानिक राजतन्त्र फर्काउने बाटो भनेर बुझ्न नसकिने स्पष्ट पारे।
राजावादी प्रदर्शनपछि उत्पन्न अराजक अवस्थाप्रति कांग्रेस महामन्त्रीले गम्भीर चिन्ता व्यक्त गर्दै मुलुकको स्थायित्व र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्न सबैलाई सचेत रहन आह्वान गरेका छन्।


























