पोखरा, २१ चैत्र। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अप्रिलदेखि लागू हुने गरी संसारभरबाट अमेरिकामा आयात हुने सामानमा न्यूनतम १० प्रतिशत कर लगाउने निर्णय गरेका छन्। केही देशका सामानमा ५० प्रतिशतसम्म कर वृद्धि गरिएको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा नयाँ चुनौती खडा गरेको छ।

ट्रम्प प्रशासनले बेलायतबाट आउने सामानमा १० प्रतिशत आयात कर तोकेको छ भने युरोपेली युनियनका सामानमा २० प्रतिशत कर लगाइएको छ। विशेष गरी विदेशी सवारी साधनमा २५ प्रतिशत कर लगाउने निर्णय गरिएको छ, जुन मध्यरातदेखि नै लागू हुनेछ। ट्रम्पले रोज गार्डेनमा आयोजित कार्यक्रममा यसलाई ‘अमेरिकाको आर्थिक स्वतन्त्रताको प्रतीक’ भन्दै नयाँ युगको सुरुवात भएको घोषणा गरेका छन्।

सबैभन्दा ठूलो असर चीनमाथि परेको छ। अमेरिकी बजारमा मेक्सिकोपछि दोस्रो ठूलो निर्यातकर्ता चीनका सामानमा ट्रम्पले ५४ प्रतिशतसम्म आयात कर लगाएका छन्। यस निर्णयलाई लिएर अमेरिकी राजनीतिक वृत्तमा मतभेद देखिएको छ। रिपब्लिकनहरूले यसलाई सकारात्मक परिवर्तनको रूपमा व्याख्या गरेका छन् भने डेमोक्र्याटहरूले अमेरिकाको आर्थिक स्थिरता खतरामा पर्ने चेतावनी दिएका छन्।

यसैबीच, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको निर्णयले विश्वव्यापारको शैली परिवर्तन गर्ने प्रतिक्रिया दिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0