पोखरा, २१ चैत्र। पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को तयारी तीव्ररूपमा अघि बढेको छ। पहिलो पटक आयोजना हुन लागेको यस भव्य धार्मिक महायज्ञको आन्तरिक तयारी करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने बाह्य संरचनाको निर्माण कार्य पनि द्रुत गतिमा भइरहेको आयोजक मानव सेवा फाउण्डेसन कास्की शाखाले जनाएको छ।

महायज्ञको तयारीस्वरूप पण्डाल निर्माण, स्वागतद्वार तथा अन्य व्यवस्थापनका कार्यहरू तीव्र पारिएका छन्। महायज्ञको प्रचारप्रसार कार्यक्रम यही चैत्र १७ गतेदेखि प्रारम्भ भई २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। मुख्य कार्यक्रम २०८२ जेठ १७ गतेदेखि २६ गतेसम्म पोखरा–१७ स्थित श्री सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गर्दै आएको गुठीको जग्गामा तथा स्थानीय बासिन्दाको सहयोगमा सम्पन्न हुनेछ।

महायज्ञका अवसरमा विभिन्न प्रचारात्मक कार्यक्रमहरू तय गरिएका छन्। वैशाख ११ गतेदेखि १६ गतेसम्म क्रमशः साइकल, ट्याक्सी, मोटरसाइकल, डुङ्गा प्रभातफेरी तथा पैदलयात्रा आयोजना गरिनेछ। वैशाख १६ गते विशाल मङ्गलमय कलश यात्रा निकालिनेछ। जगद्गुरु, साधु-सन्त, महन्त तथा प्रसिद्ध कथा वाचकहरूको प्रवचन नियमित रूपमा हुने छ भने सयौं गुरुहरूको संलग्नतामा दैनिक हवन तथा धार्मिक अनुष्ठानहरू गरिने छन्।

यस महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूद्वारा भजन, झाँकी, देवलीला, नृत्य तथा सांगीतिक प्रस्तुति दिइनेछ। महायज्ञ अवधिभर देश-विदेशका सामाजिक अभियन्ता तथा राजनेताहरूको उपस्थितिको अपेक्षा गरिएको छ। महायज्ञ स्थललाई पूर्ण धार्मिक तथा आध्यात्मिक परिवेशयुक्त बनाइनेछ।

महायज्ञको विशेष आकर्षणका रूपमा हजारौंको संख्यामा विवाह तथा व्रतबन्ध गरिने छ। वैशाख १, ३, ५, ७, ८, १६, १७, २२, २३, र २८ गते विवाह सम्पन्न गराइने छ भने वैशाख ५, १९, र २४ गते व्रतबन्ध गराइने छ। वैशाख २९ गते हजारौं श्रद्धालुहरूका लागि एकल चौराशी पूजा गराइने छ।

महायज्ञका महत्वपूर्ण दिनहरू पनि निश्चित गरिएका छन्। वैशाख ३ गते भूमि पूजन, यज्ञ कुण्ड निर्माण तथा अन्य प्रारम्भिक कार्यहरू सम्पन्न गरिनेछन्। वैशाख १७ गते महायज्ञको पूर्वाङ्ग विधि सम्पन्न गरी वैशाख १९ गतेदेखि हवन लगायतका कार्यहरू नियमित रूपमा सञ्चालन गरिनेछन्। महायज्ञको पूर्णाहुति तथा अभिषेक कार्यक्रम २०८२ जेठ २६ गते गरिने छ।

श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ ऐतिहासिक धार्मिक कार्यक्रम भएकाले यसमा अधिक संख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजक समितिले सम्पूर्ण भक्तजनहरूलाई यस पुण्य अवसरमा उपस्थित भई आध्यात्मिक लाभ उठाउन अनुरोध गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0