पोखरा, २३ चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ सुरु गरेको छ। उपसभापति डा. स्वर्णिम वाग्ले र अन्य नेताहरूले सामूहिक रूपमा घण्टी बजाएर जनयात्राको औपचारिक उद्घाटन गरे। जनयात्राको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने तयारी गरिएको भए पनि उनी उपस्थित हुन सकेनन्।

कार्यक्रमस्थलमा लामिछानेको ठूला पोस्टर र ब्यानरहरू टाँगिएका थिए, तर उनी शुक्रबार राति प्रहरीद्वारा पक्राउ परेपछि कार्यक्रममा उपस्थित हुन सकेनन्। उनलाई सुप्रीम सहकारी बचत ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश जारी गरेसँगै काठमाडौँस्थित घरबाट पक्राउ गरिएको हो।

लामिछानेलाई पक्राउ गर्न गएका एक सादा पोसाकका प्रहरी अधिकृतले ‘अन्तिम इच्छा के हो?’ भनेर सचिवालयका सदस्यहरूलाई सोधेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै देशभर चर्को बहस छिडिएको छ। यही प्रसंगलाई लिएर जनयात्राको उद्घाटन कार्यक्रममा रास्वपाका सांसद हरि ढकालले लामिछानेको ‘अन्तिम इच्छा’ का रूपमा केही सन्देश व्यक्त गरे।

ढकालले भने, “यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने, युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने, दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने, र भ्रष्टहरूलाई जेल पुर्‍याएर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा हो।” उनले राज्यद्वारा बारम्बार एकै व्यक्तिमाथि लक्षित हमला भइरहेको भन्दै चितवनले फेरि उत्तर दिनुपर्ने दिन आउन सक्ने चेतावनी पनि दिए।

उनले सरकारले न्यायिक प्रक्रियालाई सम्मान गर्न नसकेको आरोप लगाउँदै, रास्वपाले कानुनी प्रक्रियामा विश्वास राख्ने र जनतासँग संवाद गर्दै अघि बढ्ने बताए।

रास्वपाको जनयात्रा राजनीतिक अस्थिरता, भ्रष्टाचार र बेरोजगारीजस्ता ज्वलन्त समस्याहरूको समाधान खोज्न जनताको आवाज सुन्ने उद्देश्यले सुरु गरिएको हो। रवि लामिछानेको गिरफ्तारीले यात्रा आरम्भमै चर्चा कमाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0