पोखरा, २४ चैत्र। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन संविधान, कानुन र विधानअनुसार २०८४ सालको आम चुनावअघि नै हुने स्पष्ट पारेका छन्। नेपाल थारु संघको प्रथम अधिवेशनलाई तुलसीपुरमा सम्बोधन गर्दै उनले चुनावपछि महाधिवेशन हुने भन्ने भनाइ विधिविपरीत रहेको बताएका हुन्।
महामन्त्री थापाले आगामी आम निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जाने र विगतझैं गठबन्धन नगर्ने अडान व्यक्त गरे। उनले पार्टीको विधान परिमार्जन गर्दै उम्मेदवार चयनको अधिकार स्थानीय तहमै दिने व्यवस्था गर्नु आवश्यक रहेको बताए। उनका अनुसार स्थानीय कार्यकर्ताको सशक्तीकरणमार्फत मात्र पार्टी बलियो बन्न सक्छ।
नेतृत्व निर्माणको प्रक्रिया सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले अब उम्मेदवार केन्द्रले होइन, सम्बन्धित जिल्ला पार्टीले नै छनोट गर्नुपर्ने धारणा राखे। साथै उनले संविधान संशोधनमार्फत वर्तमान निर्वाचन प्रणालीमा आवश्यक सुधार गर्नुपर्नेमा पनि जोड दिए।
थापाले संवैधानिक राजतन्त्र ल्याउने कुरा अवास्तविक भएको उल्लेख गर्दै गणतन्त्र, लोकतन्त्र र संघीयताको कार्यान्वयनमार्फत मात्र जनताको जीवनमा परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे। भ्रष्टाचार नियन्त्रण, नेताहरूको आचरणमा सुधार र जनमैत्री शासन प्रणाली अपनाउन सकेमात्र देशप्रति नागरिकको विश्वास फर्कन सक्ने उनले बताए।































