पोखरा, २५ चैत्र। पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत्कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको संकल्प सभा सम्पन्न भएको छ। मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाको आयोजनामा बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने महायज्ञका लागि आयोजित संकल्पसभामा धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका विविध कार्यक्रमको जानकारी दिइएको हो।

संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्ण मूर्ती महाराजले गण्डकी कोटिहोम महायज्ञको धार्मिक, आध्यात्मिक र सांस्कृतिक उद्देश्य प्रस्तुत गर्दै यज्ञ, हवन र कोटिहोमको महत्वका बारेमा विस्तृत जानकारी दिए। उनले महायज्ञबाट संकलन हुने रकममध्ये खर्च व्यवस्थापनपछि बाँकी रहेको रकम पोखराको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासमा खर्च गरिने बताए। महायज्ञका लागि पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको र प्रचारप्रसार लगायतका कार्यलाई तीव्रता दिइएको आयोजक संस्थाले जनाएको छ।

महायज्ञको प्रचार अभियानलाई प्रभावकारी बनाउन चैत २९ गतेदेखि कथा प्रवचन सुरु हुने भएको छ। यस अवसरमा भारतकी विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले उद्घाटन कथा प्रवचन प्रस्तुत गर्नेछिन्। महायज्ञ अवधिमा भारतका शंकराचार्य, जगद्गुरु, साधुसन्त, महन्त तथा विभिन्न देशका प्रख्यात वाचक र धार्मिक व्यक्तित्वहरुको पनि उपस्थिति रहनेछ।

कोटिहोम महायज्ञमा श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण, हनुमत कथा, देवीभागवतसहित धार्मिक शास्त्रीय वाचन गरिनेछ। साथै लाखौँको विवाह, ब्रतबन्ध, तुलादान, चौरासी पूजा, एक करोड शिवलिङ्ग स्थापनाजस्ता कार्यक्रम गरिनेछ। तीन सयभन्दा बढी ब्राह्मण गुरुहरुको उपस्थितिमा दैनिक पूजा, लाखौँ रामनाम पुस्तिका वितरण र नाम लेखन, एक करोड बेलपत्रद्वारा शिवलिङ्ग पूजन गरिने योजना छ।

महायज्ञ अवधिभर राष्ट्रिय भजन प्रतियोगिता, कवि सम्मेलन, सन्त सम्मेलन, धार्मिक संस्थाहरुको सम्मेलन, ११ हजार कलश पूजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार स्रष्टा सम्मान, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वत निर्माण र वक्तृत्वकला प्रतियोगिता जस्ता विविध कार्यक्रम गरिनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0