पोखरा, २७ चैत्र।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान अवस्थाबाट राष्ट्र अगाडि बढ्न नसक्ने भन्दै सबै राजनीतिक धारलाई समेट्ने नयाँ समझदारी आवश्यक रहेको बताएका छन्। मंगलबार काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले पूर्वराजादेखि गणतन्त्रवादीसम्म अट्ने ढाँचामा सहमति खोज्नुपर्ने सुझाव दिएका हुन्।
लिङ्देनले वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै अबको बाटो शान्तिपूर्ण र सर्वसम्मत रुपमा तय गर्नुपर्नेमा जोड दिए। उनले राजा राष्ट्रका अभिभावक, जनता सार्वभौम र कार्यकारी प्रधानमन्त्रीसहितको व्यवस्था हुनुपर्ने धारणा राखे। साथसाथै, प्रदेश संरचना हटाएर बलियो स्थानीय तह र हिन्दू राज्यको पुनःस्थापनाको माग पनि दोहोर्याए।
शिक्षा र स्वास्थ्य सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउनुपर्ने सुझाव राख्दै लिङ्देनले पाँचदेखि दस वर्षको अवधिमा देश बनाउने दीर्घकालीन योजना आवश्यक रहेको बताए।
उनले चैत १५ गते सरकारकै निर्देशनमा काठमाडौंमा भएको प्रदर्शनमा हिंसा मच्चाइएको आरोप समेत लगाउँदै त्यसप्रति विरोध जनाए।






























