पोखरा, २९ चैत्र। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक आन्दोलन उत्पन्न हुनुमा संसदको कमजोरी मुख्य जिम्मेवार भएको स्पष्ट पारेका छन्। एक भिडियो सन्देशमार्फत धारणा सार्वजनिक गर्दै थापाले सबै राजनीतिक दलहरूले समयमै कानुन बनाउन नसकेको गल्ती स्वीकार्नुपर्ने बताएका छन्।

नवौँ दिनसम्म पनि आन्दोलनमा रहेका शिक्षकहरू काठमाडौँको सडकमा उपस्थित हुनु दुर्भाग्यपूर्ण अवस्था भएको उल्लेख गर्दै थापाले देशका शिक्षकलाई आन्दोलन गर्न बाध्य पार्नु राजनीतिक दलहरूका लागि लज्जास्पद विषय भएको बताएका छन्। उनले भने, “शिक्षकहरूको माग सम्बोधन गर्न सबैले आआफ्नो भूमिका निर्वाह नगर्दा यो अवस्था आएको हो। दोषारोपण गर्नुको साटो सामूहिक प्रयासबाट समाधान खोज्नुपर्छ।”

महामन्त्री थापाले शिक्षकका माग संसद्मा बनाउने कानुनसँग जोडिएका हुँदा समयमै कानुन नबनाइनु आन्दोलनको प्रमुख कारण भएको बताए। उनले सरकारमा बसेका सबै दलहरूले असफलता स्विकारेर अब ढिलो नगरी शिक्षकहरूलाई पुनः कक्षा कोठामा फर्काउनुपर्नेमा जोड दिए।

उनले शिक्षालाई राजनीति गर्ने माध्यम नबनाई संविधानप्रदत्त अधिकारअनुसार शिक्षकहरूको मागलाई सम्बोधन गर्न सबै दल एकजुट हुनुपर्ने धारणा राखे। “कुनै पनि दलले अब अर्को दललाई दोष दिने ठाउँ छैन, संसद्ले तुरुन्तै आवश्यक कानुन निर्माण गरेर शिक्षकको माग सम्बोधन गर्नुपर्छ,” थापाले भने।

उनले आन्दोलनरत शिक्षकहरूको पीडा बुझेर सरकार र संसद दुवै संवेदनशील बन्नुपर्ने र शिक्षण कार्यमा असर नपरोस् भन्नेतर्फ गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0