पोखरा, ३१ चैत्र। नेपालीहरूले नयाँ वर्ष २०८२ लाई उल्लासपूर्वक स्वागत गर्न तयारी तीव्र पारेका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा देशका प्रमुख पर्यटकीय गन्तव्यहरू—पोखरा, काठमाडौं, चितवन, धुलिखेल, नगरकोट लगायतका स्थानहरूमा विशेष कार्यक्रम, कन्सर्ट र फेस्टको आयोजना भइरहेको छ। होटल व्यवसायीहरूका अनुसार अधिकांश होटलहरू ९० प्रतिशतभन्दा बढी बूक भइसकेका छन्।

होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षका लागि होटलहरूमा चैत २९ देखि वैशाख १ गतेसम्म विशेष चहलपहल देखिएको छ। उनी भन्छन्, ‘कोशीदेखि काठमाडौंसम्म कार्यक्रमको रौनक छ, पोखरामा त एक सातासम्म महोत्सव नै चल्नेछ।’ यद्यपि, उनले नेपालमा अझै पनि कनेक्टिभिटीको समस्या रहेको उल्लेख गर्दै पर्यटक आगमन क्षमताअनुसार नभएको गुनासो गरे।

पोखरामा मात्रै एक लाखभन्दा बढी पर्यटकको आगमन भएको होटल एसोसिएसन अफ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्। ‘यसपालि तीन दिनको सट्टा करिब एक सातासम्म महोत्सव मनाइनेछ,’ उनले भने, ‘होटलहरू लगभग भरिसकेका छन्।’ लेकसाइडस्थित होटल सरोवरका ९६ वटै कोठा दुई दिनअघि नै बूक भइसकेको बताइन्छ।

होटल सहारामा पनि ६५ मध्ये केवल केही लक्जरी कोठा मात्र बाँकी छन्। सञ्चालक चक्र सुवेदीका अनुसार बूकिङको ७० प्रतिशत आन्तरिक पर्यटकबाट भएको हो भने बाँकी भारतीय, चिनियाँ, पश्चिमी र अन्य मुलुकका पर्यटक रहेका छन्। नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटका सम्पूर्ण कोठाहरू पनि बूक भइसकेका छन्।

यो साता आन्तरिक पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको देखिन्छ। होटल बूकिङबाट देखिन्छ कि नेपालीहरूमा नयाँ वर्षलाई विशेष बनाउने ट्रेन्ड तीव्र रूपमा बढिरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0